बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

12 Shares

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

केदारस्युँ गाउँपालिका–७, काँडाचौर जाने क्रममा बुधबार बिहान सवा ९ बजेतिर जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी सोही वडाकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मोहन धामीले चलाएको जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।