काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्याली’ आयोजना गर्ने भएको छ। नेपाल संवत् मनाउने समुदायको सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गर्न लागिएको हो।
नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गर्दै काठमाडौँका ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेका भित्री गल्लीहरूमा सुकुन्दा र्याली निकाल्न लागिएको जानकारी दिएका छन्।
उनका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४ बजे काठमाडौँको लगनटोलबाट र्याली सुरु हुनेछ। र्यालीले काठमाडौँका विभिन्न ऐतिहासिक बस्ती, टोल तथा सांस्कृतिक सम्पदास्थलको परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।
र्याली लगनटोलबाट सुरु भई लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुनेछ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समेत सहभागिता रहने महानगर समितिले जनाएको छ। कार्यक्रमलाई सफल बनाउन महानगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई र्यालीमा सहभागी हुन निमन्त्रणा गरेको छ।
महानगर समितिका सभापति वैद्यले सुकुन्दा र्यालीले काठमाडौँको मौलिक संस्कृति, ऐतिहासिक परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल संवत् र दीपावलीसँग जोडिएका सांस्कृतिक गतिविधिलाई सामूहिक रूपमा मनाउने परम्परालाई निरन्तरता दिँदै आयोजना गर्न लागिएको यस र्यालीले स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँको ऐतिहासिक बस्ती तथा परम्परागत सम्पदाको पहिचान झल्काउने सुकुन्दा र्यालीले नेपाल संवत्को सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने आयोजकको विश्वास छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया