पटाकासहित दुई भारतीय नागरिक पक्राउ

13 Shares

चितवन । प्रहरीले चितवनका विभिन्न स्थानबाट ठूलो परिमाणमा पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत विभिन्न प्रकारका ८० हजार ३७२ थान पटाका बरामद गरेको छ। बरामद पटाकाको मूल्य छ लाख २३ हजार ४६५ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थानका २९ वर्षीय कन्हैया कुमार रहेका छन्। कन्हैया हाल भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ८० हजार ३७२ वटा विभिन्न प्रकारका पटाकासहित नगद एक लाख ७२ हजार ३०० रुपैयाँसमेत बरामद गरेको छ।

तिहार तथा दीपावलीजस्ता चाडपर्व नजिकिँदै गर्दा पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध कारोबार हुन सक्ने भएकाले प्रहरीले निगरानी र सुरक्षा जाँचलाई तीव्र बनाएको छ। पटाकाको भण्डारण, ओसारपसार तथा बिक्री वितरणबाट हुन सक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न प्रहरीले विभिन्न स्थानमा निगरानी बढाएको जनाएको छ।

प्रहरी उपरीक्षक पौडेलले पटाकाजस्ता विस्फोटक पदार्थको अवैध कारोबार भइरहेको वा भण्डारण गरिएको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। उनीहरूलाई पटाका ओसारपसार तथा सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी आवश्यक कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

चाडपर्वका समयमा पटाकाको अनियन्त्रित प्रयोगले आगलागी, चोटपटक तथा अन्य दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले प्रहरीले सर्वसाधारणलाई यस्ता विस्फोटक पदार्थको प्रयोग तथा कारोबारबाट टाढा रहन आग्रह गरेको छ।