अमेरिकामा जी–२० विदेशमन्त्रीहरूको बैठक, युद्ध र विश्व व्यापारका चुनौतीमा छलफल

58 Shares

अमेरिकाको एटलान्टा सहरमा जी–२० देशका विदेशमन्त्रीहरूको बैठक सुरु भएको छ । अक्टोबर ३० र ३१ सम्म चल्ने बैठकमा विश्वका प्रमुख आर्थिक शक्तिहरूबीच बढ्दो भूराजनीतिक तनाव, व्यापारिक चुनौती र अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल हुँदैछ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको अध्यक्षतामा भइरहेको बैठकमा रुस–युक्रेन युद्ध, अमेरिका तथा इजरायलसँग जोडिएको इरान द्वन्द्व, अमेरिकी व्यापारिक शुल्क र दक्षिण चीन सागरको तनाव प्रमुख छलफलका विषय बनेका छन् । समुद्री मार्गको स्वतन्त्र आवागमन, ऊर्जा तथा खाद्य सुरक्षा र आपूर्ति शृङ्खलालाई सुरक्षित बनाउने विषयमा पनि सदस्य राष्ट्रहरूले छलफल गर्नेछन् ।

विश्वका प्रमुख अर्थतन्त्रहरूबीच आर्थिक सहकार्य र अन्तर्राष्ट्रिय स्थायित्व कायम गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो । अमेरिकाले खुला बजार र आपूर्ति शृङ्खलालाई थप मजबुत बनाउने विषयलाई पनि प्राथमिकतामा राखेको छ । एटलान्टामा भइरहेको विदेशमन्त्रीस्तरीय बैठकपछि आगामी डिसेम्बर १४ र १५ मा अमेरिकाको मियामीमा जी–२० राष्ट्रप्रमुखहरूको शिखर सम्मेलन आयोजना हुने कार्यक्रम छ ।