इनम सापकोटासँग जोडिएका संवाद र आर्थिक कारोबारसम्बन्धी विवरण सार्वजनिक भएपछि नेपालको न्यायिक तथा सुरक्षा क्षेत्रको नेतृत्वमाथि समेत प्रश्न उठ्न थालेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कबाट चर्चामा आएका सापकोटासँग प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको नामसमेत जोडिएपछि प्रकरण थप चर्चामा आएको हो ।
सार्वजनिक भएका विवरणमा सापकोटा र न्यायाधीश फुयालबीच सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएप संवाद भएको उल्लेख छ । प्रधानन्यायाधीश शर्मासहित केही उच्चपदस्थ व्यक्तिको नाम जोडिएको आर्थिक कारोबारको विवरण पनि सार्वजनिक भएको छ । न्यायाधीश फुयालले सापकोटाले आफू र अन्य न्यायाधीशलाई प्रधानमन्त्रीको प्रतिनिधि भएको दाबी गर्दै सम्पर्क गरेको बताएका छन् ।
उनले आर्थिक लेनदेन वा अनुचित मिलेमतो भएको अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश शर्माले पनि सापकोटासँग आफ्नो कुनै सम्पर्क वा संलग्नता नरहेको भन्दै सार्वजनिक आरोप अस्वीकार गरेका छन् । यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौंले सापकोटासम्बन्धी अनुसन्धानका विवरण गोप्य राखिएको स्पष्ट पारेको छ ।
अनुसन्धानसँग सम्बन्धित प्रमाण तथा सूचना प्रहरीबाट कुनै व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध नगराइएको जनाउँदै प्रहरीले अपुष्ट विवरणलाई आधिकारिक तथ्यका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सापकोटा हाल प्रहरी हिरासतमा छन् ।
उनीसँग जोडिएका सम्पर्क, संवाद तथा आर्थिक कारोबारका विषयमा अनुसन्धान जारी रहेकाले सार्वजनिक भएका दाबीको सत्यता अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया