कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा बजेट अभावले चुनौती थपिएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधारसँगै खेलाडीको बसोबास, सुरक्षा र व्यवस्थापनको विषय पनि चासोको केन्द्रमा रहेको छ ।
प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेशले तयारी अघि बढाए पनि आवश्यक सबै पूर्वाधार र खेल सामग्रीको व्यवस्थापन पूरा भइसकेको छैन । सल्यानमा टेबलटेनिसका लागि स्तरीय कभर्ड हल, चौरजहारीमा खेलमैदान, रुकुममा कभर्ड हल तथा हुम्लामा हक्की मैदान आवश्यक रहेको विषयसमेत उठेको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
तर, प्रतियोगिताको तयारी र व्यवस्थापनका लागि थप स्रोत आवश्यक पर्ने देखिएको छ । खेलाडी तथा अन्य सहभागीको आवास, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको छ ।
बारम्बार मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद यसपटक निर्धारित समयमै सम्पन्न गर्नु आयोजकका लागि मुख्य चुनौती बनेको छ । बजेटको व्यवस्थापन, बाँकी पूर्वाधार निर्माण र व्यवस्थापकीय तयारी समयमै पूरा भए मात्रै प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया