दसैँको बजारमा खसीबोकाको बिक्री सुस्त, व्यापारीको अपेक्षा प्रभावित

48 Shares

बडादसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न बजारमा पुगेका व्यापारीले अपेक्षाअनुसार ग्राहक नपाएको बताएका छन् । चितवनको नारायणगढस्थित आपँटारी पशु बजारमा दसैँको किनमेल बढ्दै गए पनि पशु बिक्री भने अपेक्षाअनुसार हुन नसकेको हो ।

आपँटारी बजारमा एक दिन करिब ६० वटा खसीबोका र च्याङ्ग्रा बिक्री भएका थिए । सामान्य दिनमा उक्त बजारमा १०० भन्दा बढी पशु बिक्री हुने गरेको गणेश टोल विकास समितिका कार्यवाहक अध्यक्ष राजु अधिकारीले बताएका छन् । बिक्री सुस्त हुनुमा हालैका विपद्का कारण उपभोक्ताले खर्च गर्दा सावधानी अपनाएको हुन सक्ने अध्यक्षको अनुमान रहेको छ ।

यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० देखि ७५० रुपैयाँसम्म पुगेको छ, जुन गत वर्षभन्दा कम्तीमा ५० रुपैयाँ बढी हो । च्याङ्ग्राको मूल्य भने प्रतिकिलो एक हजार रुपैयाँभन्दा माथि छ । बजारमा मूल्य बढ्नु र ग्राहकको आगमन अपेक्षाअनुसार नहुनुले व्यापारीलाई कारोबारको अवस्थाबारे चिन्तित बनाएको छ ।