राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना आगामी दुई आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका उपलब्धि सार्वजनिक गर्दै बबई सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सनलाई दुई आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताएका हुन् ।
सुर्खेतमा निर्माणाधीन आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०६८÷६९ मा सुरु भएको आयोजनाको १२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि बाँध, विद्युत्गृह, उपकरण जडान र प्रसारण लाइन निर्माणका काम अझै बाँकी छन् ।
मुख्य संरचना निर्माणमा भएको ढिलाइले आयोजनाको समग्र प्रगतिमा असर पारेको छ । आयोजना पूरा भएपछि भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालिनेछ । यसबाट ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । आयोजनाको कुल लागत करिब ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया