कैलालीमा बेपत्ता दीपक सुनारको हत्या प्रकरण प्रेम सम्बन्धदेखि डेढ लाखको सुपारीसम्म

15 Shares

कैलाली ।कैलालीको लम्कीचुहा नगरपालिका–१० का ३४ वर्षीय दीपक सुनार बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा योजनाबद्ध हत्या भएको खुलेको छ। प्रहरीका अनुसार दीपककी श्रीमती यमुना सुनारसहित पाँच जनाको संलग्नतामा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।घटनाको सुरुवात गत साउन २३ गते बिहानबाट भएको थियो। जानकी गाउँपालिकास्थित अमरावती जंगलमा रगत लतपतिएको मासुको टुक्रा, दाउ, चप्पल तथा प्लास्टिकका सामग्री भेटिएको सूचना प्रहरीले पाएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले सुरुमा उक्त मासु जंगली जनावरको हुनसक्ने आशंका गरेको थियो। तर घटनास्थलबाट संकलन गरिएको रगत परीक्षण गर्दा त्यो मानिसको भएको पुष्टि भयो।यसअघि नै साउन २२ गते साँझ दीपक सुनार सम्पर्कविहीन भएको भन्दै उनकी श्रीमती यमुना सुनारले प्रहरीमा जानकारी गराएकी थिइन्। ससुराली गएको समयमा श्रीमान् हराएको भन्दै उनले खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन्। प्रहरीले दीपकको हुलियासहित खोजी अघि बढाएको थियो।दीपकको खोजी भइरहेका बेला अमरावती जंगलमा भेटिएको मानव रगत र मासुको टुक्राबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको थियो। यही क्रममा काठमाडौंमा रहेका एक प्रहरी अधिकृतलाई लम्कीका दुई स्थानीय व्यक्तिले अमरावती जंगलमा जंगली जनावरको सिकार भइरहेको भन्दै जानकारी गराएका थिए।उनीहरूले प्रहरीको ध्यान अमरावती जंगलमा भएको भनिएको सिकारतर्फ मोड्ने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूले दीपककी श्रीमती यमुनासँग सम्बन्धित विषयमा समेत प्रहरी अधिकृतसँग कुराकानी गरेका थिए।प्रहरी अधिकृतले उक्त जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनालाई सुनाएपछि अनुसन्धानले नयाँ मोड लिएको थियो।
त्यसपछि प्रहरीले दीपककी श्रीमती यमुना सुनारको सम्पर्क विवरण अर्थात् सीडीआर विश्लेषण गरेको थियो। अनुसन्धानका क्रममा उनको लम्कीचुहा नगरपालिका–१० कै दुर्योधन सुवर्णकारसँग पटक–पटक सम्पर्क हुने गरेको खुलेपछि प्रहरीको अनुसन्धान सुवर्णकारतर्फ केन्द्रित भयो।प्रहरीका अनुसार सुवर्णकारको लोकेसन काठमाडौं देखिए पनि अनुसन्धान अघि बढाउने क्रममा उनी धनगढी आइसकेको पत्ता लागेको थियो। त्यसपछि प्रहरीले उनलाई धनगढीस्थित एक होटलबाट उनका साथी टीकापुरका रामराजेश महतोसहित पक्राउ गरेको थियो।उनीहरू पक्राउ परेपछि दीपक सुनारको हत्या योजनाबद्ध रूपमा गरिएको तथ्य खुलेको प्रहरीले जनाएको छ।अनुसन्धानका क्रममा दीपकको हत्या गर्न कञ्चनपुरको बेलौरीका भीमा राना र वीरेन्द्र रानालाई ८८एक लाख ५० हजार रुपैयाँमा सुपारी दिइएको८८ खुलेको छ। सहमतिअनुसार हत्याअघि ४० हजार रुपैयाँ र हत्या सम्पन्न भएपछि बाँकी एक लाख १० हजार रुपैयाँ दिने तय भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीका अनुसार दीपककी श्रीमती यमुना सुनार र दुर्योधन सुवर्णकारबीचविवाहअघि नै प्रेम सम्बन्ध रहेको र विवाहपछि पनि उक्त सम्बन्ध निरन्तर रहेको खुलेको छ। दीपक वैदेशिक रोजगारी तथा भारतमा कामका लागि जाने गरेका थिए। केही महिनाअघि विदेशबाट घर फर्किएपछि भने उनी घरमै बस्ने योजनामा थिए।यही विषयलाई सम्बन्धमा बाधकका रूपमा लिँदै दीपकको हत्या गर्ने योजना बनाइएको प्रहरीको दाबी छ।प्रहरीका अनुसार साउन २२ गते राति यमुनाले स्कुटरमा दीपकलाई अमरावती जंगल पुर्याएकी थिइन्। त्यहाँ पूर्वयोजनाअनुसार रहेका चार जनाले दीपकमाथि दाउ प्रहार गरी हत्या गरेको बयान अनुसन्धानका क्रममा प्राप्त भएको छ।हत्यापछि शव टुक्राटुक्रा पारेर मोटरसाइकलमा राखी कर्णाली नदीमा बगाइएको बयान आरोपीहरूले दिएको प्रहरीले जनाएको छ। यद्यपि शव अझै फेला परेको छैन। नदीमा पानीको बहाव अत्यधिक रहेकाले शव खोजीमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

घटनालाई ढाकछोप गर्न र प्रहरीको अनुसन्धानलाई अन्यत्र मोड्न अमरावती जंगलमा जंगली जनावरको सिकार भएको भन्दै बनावटी सूचना फैलाइएकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।यसरी अमरावती जंगलमा भेटिएको मानव रगत र मासुको टुक्रा, घटनास्थलमा भेटिएका सामग्री, दीपकको बेपत्ता घटना, शंकास्पद सम्पर्क विवरण तथा प्रहरीलाई भ्रमित पार्ने प्रयासबीचको सम्बन्ध जोड्दै अनुसन्धान अघि बढाउँदा हत्या प्रकरणको रहस्य खुलेको हो।घटनामा संलग्न भएको आरोपमा यमुना सुनार, दुर्योधन सुवर्णकार, रामराजेश महतो, भीमा राना र वीरेन्द्र रानालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले अनुसन्धान जारी रहेकाले घटनाका सबै विवरण अहिले नै सार्वजनिक गर्न नमिल्ने बताएका छन्। कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जिल्ला प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालयको संयुक्त टोलीले गरेको गहिरो अनुसन्धानबाट घटना पत्ता लागेको बताएका छन्।बेपत्ता दीपकको शव भने अझै फेला परेको छैन। कर्णाली नदीमा खोजी कार्य जारी रहे पनि नदीमा पानीको मात्रा अत्यधिक भएकाले शव भेटाउन चुनौती देखिएको प्रहरीले जनाएको छ।