रसुवा बाढी अपडेट: मृतकको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कविहीन

25 Shares

काठमाडाैं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी र त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाकाे बारे जानकारी दिएको हो । प्राधिकरणका अनुसार बाढीबाट सबै भन्दा बढी चितवनमा ३ सय ५५ जनाको मृत्यु भएको छ।

जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् । त्यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको हाे । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

विपद्मा परेका ११ हजार ९ सय ९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले मात्रै हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी गरी कूल ४ हजार ३ सय ६४ जनाको उद्धार गरेको हाे । उद्धारका लागि सेनाले ७ सय १५ पटक र निजी क्षेत्रका हेलिकाेप्टरले १ सय २९ पटक उडान भरेका छन् ।

बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । जसमध्ये विभिन्न अस्पतालमा ३०१ जनाको उपचार भइरहेको हाे । नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरहरूमा ३ हजार ९४८ जना आश्रित छन् ।

प्राधिकरणले बाढीका कारण हालसम्म ४ हजार २ सय १६ जना सम्पर्कविहीन रहेकाे जनाएकाे हाे।