काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी र प्रतिशोधी बन्दै गएको आरोप लगाएका छन् । उनले देशमा भय र त्रासको वातावरण सिर्जना भएको तथा लोकतान्त्रिक र संवैधानिक व्यवस्था कमजोर पार्ने गतिविधि भइरहेको दाबी गरेका छन् ।
पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक व्यवस्था कमजोर बनाउने काम भएको आरोप लगाए । त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उनको दाबी थियो ।
उनले वर्तमान अवस्थालाई स्वेच्छाचारी शासनको संज्ञा दिँदै सरकार फासिवादतर्फ उन्मुख भएको टिप्पणी गरे ।
‘अहिले देश राजनीतिक रुपमा एउटा आतंकको छायामुनी, भय र त्रासको वातावरण मुनि, असंवैधानिक, गैरकानूनी कृयाकलापहरुको पेलाईमा स्वेच्छाचारी शासनको अन्तरगत देश चलिरहेको छ । फासिवाद तर्फ दमनकारी प्रतिशोधी व्यवहार अगाडी बढिरहेको छ,’ ओलीले भने ।
आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उनले सरकारसँग खर्बौं रुपैयाँ थन्किएर बसे पनि पीडित नागरिकले राहत पाउन नसकेको बताए । सरकार जनताप्रति उत्तरदायी नभएको र उपलब्ध स्रोतसाधनसमेत परिचालन गर्न नसकेको उनको आरोप थियो ।
‘जनताप्रति अनुत्तरदायी सरकार खर्बौ पैसा जम्मा भएको छ । त्यो खर्बौ पैसा थानको लागेर बसेको छ । पीडितहरु दुःखमा पिल्सीरहेका छन् । त्यो पैसाको पनि प्रयोग भएको छैन । यति समय भैसक्यो केही पनि भएको छैन । केही गर्न सकिन्थ्यो, सरकार परिचालन हुँदा, सरकारले काम गर्दा गर्न सकिन्थ्यो । केही पनि भएको छैन । अथवा जनताप्रति उत्तरदायित्व छैन,’ उनले भने ।
ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि सुधार हुन नसकेको टिप्पणी गरे । अस्पतालबाट उपचार नपाएर महिलाले सडकमा प्रसूति हुनुपर्ने अवस्था कायम रहेको भन्दै उनले स्वास्थ्य सेवा प्रवाहमाथि प्रश्न उठाए ।
‘शिक्षा बिग्रिदो छ । स्वास्थ्य स्थितिमा सुधार भइरहेको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसब वेदना सहँदै शिशुलाई जन्म दिनुपर्ने अवस्था मा महिलाहरु गुज्रिनु परेको छ । अर्थात वर्णन गरेर साध्य छैन । एउटा पक्षमा होइन, सर्वत्र पक्षमा,’ उनले भने ।
उनले नेपाली भाषा, संस्कृति र सभ्यतामाथि समेत चर्को हमला भइरहेको दाबी गरे । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा समस्या बढेको उनको भनाइ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया