काठमाडौं । निजामती कर्मचारी अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार गरिने भएको छ ।
अस्पतालको नेत्ररोग विभागलाई स्तरोन्नति गर्दै शल्यक्रियासहितको सेवा विकास गर्न लागिएको हो । अस्पतालमा बुधवार आयोजित तीनदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरको उद्घाटन कार्यक्रममा मुख्यसचिव गोविन्दबहादुर कार्कीले चीन सरकार, लाइफलाइन एक्सप्रेस, तियानजिन मेडिकल युनिभर्सिटी र नेपालस्थित चिनियाँ दुतावासको सहयोगमा अस्पतालको नेत्ररोग विभागको क्षमता विस्तार गर्न लागेको जानकारी दिनुभयो ।
अस्पतालमा हालसम्म सामान्य आँखा परीक्षणको सुविधा मात्रै उपलब्ध रहेको उल्लेख गर्दै उहाँले अब मोतियाबिन्दुको उपचार तथा शल्यक्रिया सेवा स्थायी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँकाअनुसार चीन सरकारको सहयोगमा करिव दुई दशकअघि स्थापना भएको निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीसँगै सर्वसाधारणलाई समेत सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालको भौतिक पूर्वाधार र सेवा सुविधाको विकासमा चीनको निरन्तर सहयोग महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका कार्कीले अस्पतालको सेवा गुणस्तर सुधार र पूर्वाधार विस्तारका लागि व्यवस्थापन समिति आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले हाल अस्पताल विस्तारका लागि जग्गाको अभाव रहेको बताउनुभयो ।
अस्पतार विस्तारको लागि जग्गा खोजी भईरहेको उल्लेख गर्दै उहाँले जग्गा प्राप्त भएपछि भवन तथा अन्य चिकित्सा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालको तेस्रो चरणको विस्तारका लागि पनि चीन सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यस अस्पतालको जग्गा तथा भौतिक क्षेत्र सीमित छ । अस्पतालको थप विस्तार गर्ने र अन्य चिकित्सा विभागहरू स्थापना तथा विकास गर्ने हाम्रो योजना रहेको छ । तर जग्गाको अभावका कारण अस्पताल विस्तार गर्न कठिनाइ भइरहेको छ । त्यसैले अस्पताल विस्तारका लागि हामीले अन्य सरकारी जग्गाको खोजी गरिरहेका छौँ । सरकारबाट आवश्यक जग्गा प्राप्त भएपछि अस्पतालका थप भवनहरू तथा अन्य चिकित्सा सेवा सुविधाहरू निर्माण गर्न चीन सरकारले पुनः सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु । यस अस्पतालको स्वास्थ्य सेवा तथा भौतिक पूर्वाधारलाई थप सुदृढ बनाउन नेपाल र चीनबीचको संयुक्त प्रयास तथा सहकार्य अझै आवश्यक छ ।’
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. जितेन्द्र परियारले तीनदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरले दृष्टिसम्बन्धी समस्या भएका बिरामीलाई प्रत्यक्ष लाभ पुर्याउने जानकारी दिनुभयो । चीनको लाइफलाइन एक्सप्रेस, चिनियाँ दूतावास, तियानजिन मेडिकल युनिभर्सिटी र तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा शिविर सञ्चालन गरिएको उहाँको भनाई छ ।
डा. परियारकाअनुसार शिविरको तयारी, बिरामी पहिचान, प्राविधिक मार्गदर्शन, आवश्यक उपकरण तथा सामग्री व्यवस्थापन र जनशक्ति परिचालनमा तिलगंगा आँखा प्रतिष्ठानले सहयोग गरेको छ । अस्पतालको नेत्ररोग विभागमा सीमित पूर्वाधार, उपकरण र जनशक्ति रहेकाले शिविर सञ्चालन गर्न विभिन्न संस्थाको सहकार्य आवश्यक परेको उहाँले बताउनुभयो ।
कार्यकारी निर्देशक परियारले अस्पतालको सेवा विस्तार र स्तरोन्नति गर्न नेपाल–चीन स्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार अस्पतालको तेस्रो चरणको विस्तार परियोजना कार्यान्वयन भएमा करिब ५०० देखि ६०० शैय्याको क्षमतासहितको आधुनिक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ । यसबाट निजामती कर्मचारीसँगै सर्वसाधारण नागरिकले थप विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ हाम्रो अस्पतालको नेत्ररोग विभाग हाल प्रारम्भिक विकासकै चरणमा रहेको छ। विभागको भौतिक पूर्वाधार, उपकरण तथा जनशक्तिको अवस्था अझै सीमित छ। यद्यपि, यस्ता सीमितताका बाबजुद पनि नेत्ररोग विभागको सेवा, पूर्वाधार तथा क्षमता अभिवृद्धि गर्दै लैजान हामी पूर्ण रूपमा प्रतिवद्ध छौँ । चीन सरकार तथा नेपालस्थित चिनियाँ राजदूतावासको सकारात्मक सहयोग र विचाराधीन योजनाअनुसार अस्पतालको तेस्रो चरणको विस्तार परियोजना पनि भविष्यमा कार्यान्वयन हुने अपेक्षा गरेका छौँ । उक्त परियोजना सम्पन्न भएपछि करिब ५०० देखि ६०० शैय्याको क्षमतासहितको आधुनिक अस्पताल निर्माण गर्न सकिनेछ । यसबाट नेपालका राष्ट्रसेवक कर्मचारीहरूका साथै सर्वसाधारण नागरिकलाई समेत थप विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने हाम्रो विश्वास छ ।’
कार्यक्रममा चीनको लाइफलाइन एक्सप्रेस, चिनियाँ दूतावास, तियानजिन मेडिकल युनिभर्सिटी, नेपाल मेडिकल काउन्सिल, तिलगंगा आँखा प्रतिष्ठान तथा अस्पतालका विभिन्न विभाग र एकाइका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया