पश्चिम एशियामा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघका महासचिव गुटेरेसकाे चिन्ता

16 Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पश्चिम एशिया क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यस विषयमा जानकारी गराउनुभएको हो । प्रवक्ता दुजारिकले महासचिव गुटेरेसले तनावमा संलग्न सबै पक्षहरूलाई तत्काल उत्तेजना कम गर्ने कदम चाल्न र वार्ता तथा कुटनीतिको बाटोमा फर्कन आह्वान गर्नुभएको बताउनुभएकाे छ । त्यसैगरी, महासचिवले हर्मुज जलसन्धि र त्यस आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जलयान सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनःस्थापना गर्न आफ्नो माग पुनः दोहोर्‍याउनुभयाे ।

अन्तर्राष्ट्रिय कानून बमोजिम जलयान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । अमेरिका र इरानबीच बढ्दो असमझदारी र मध्यपूर्वमा विकसित पछिल्लो सैन्य गतिविधिलाई लिएर राष्ट्रसंघले संयमता अपनाउन आग्रह गर्दै आएको हाे ।