पाकिस्तानले आफ्नो फतह–२ क्षेप्यास्त्र प्रणालीको विस्तारित दूरीमा प्रहार गर्न सक्ने संस्करणको सफल परीक्षण गरेको जनाएको छ । मंगलबार गरिएको परीक्षणले उक्त हतियार प्रणालीको प्रहार क्षमता र प्राविधिक पक्षको मूल्याङ्कन गरेको छ ।
यसलाई पाकिस्तानको सैन्य क्षमता विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ । पाकिस्तानी सेनाको सञ्चार तथा जनसम्पर्क विभागका अनुसार फतह–२ प्रणालीमा उन्नत दिशा निर्धारण प्रविधि तथा एभियोनिक्स प्रणाली जडान गरिएको छ । यी प्रविधिले क्षेप्यास्त्रलाई उडानका क्रममा आफ्नो दिशा नियन्त्रण गर्न र निर्धारित लक्ष्यमा सटीकताका साथ पुग्न सहयोग गर्ने सेनाको दाबी रहेको छ ।
सेनाले जारी गरेको विज्ञप्तिमा क्षेप्यास्त्रले उडान मार्गमा दिशा परिवर्तन गर्न सक्ने क्षमतासमेत राख्ने उल्लेख छ । यसले लक्ष्यसम्म पुग्ने क्रममा सम्भावित अवरोधको सामना गर्न सहयोग पुग्ने पाकिस्तानी पक्षको दाबी रहेको छ ।
पाकिस्तानले यस परीक्षणलाई आफ्नो सैन्य क्षमता थप सुदृढ बनाउने प्रयासका रूपमा प्रस्तुत गरेको छ । विस्तारित दूरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रणालीको विकासले क्षेत्रीय सुरक्षा अवस्थालाई समेत चासोको विषय बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया