काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट भाषण नयाँ भवनबाटै गर्ने सरकारको तयारीका बीच शुक्रवार उनले निर्माण कार्यको पछिल्लो अवस्था र प्रगतिको अवलोकन गरेका हुन् ।
निरीक्षणका क्रममा सभामुख अर्यालले भवनको भौतिक पूर्वाधार निर्माणको प्रगतिबारे विस्तृत जानकारी लिए । उनले राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीलाई निर्देशन दिए । आगामी बजेट भाषणसम्म मुख्य हल र आवश्यक संरचनाहरू तयार पार्नुपर्ने लक्ष्य रहेकाले काममा तीव्रता दिन उनको आग्रह छ ।
सभामुखले भवनको गुणस्तरमा कुनै सम्झौता नगर्न र आधुनिक प्रविधियुक्त संरचना निर्माणमा विशेष ध्यान दिन समेत ध्यानाकर्षण गराए । सो अवसरमा निर्माण कार्यमा संलग्न प्राविधिक तथा अधिकारीहरूले हालसम्मको भौतिक प्रगति र बाँकी रहेका कामहरूको कार्ययोजनाबारे सभामुखलाई जानकारी गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया