हिमालको काखमा बढ्यो व्यापारिक चहलपहल, व्यस्त बन्दै कोरला

17 Shares

काठमाडौं । हिमालको काखमा रहेको मुस्ताङको कोरला नाका अहिले अस्वाभाविक रूपमा व्यस्त देखिन थालेको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि रसुवागढी नाका बन्द हुनु र तातोपानीबाट हुने कारोबारसमेत प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने माल वस्तु तथा विद्युतीय सवारीको चाप कोरलातर्फ बढेको हो। सीमावर्ती क्षेत्रमा विगतमा देखिने सीमित व्यापारिक गतिविधिको ठाउँ अहिले लामो लाइनमा उभिएका कन्टेनर र विद्युतीय सवारीले लिन थालेका छन्।

समुद्री सतहदेखि करिब ४ हजार ६ सय ५० मिटरको उचाइमा रहेको कोरला नाका २०८० सालदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। पछिल्लो समय नाकाको व्यापारिक महत्त्व तीव्र रूपमा बढेको देखिन्छ। मुस्ताङ भन्सारका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोरला नाका हुँदै ३ हजार २ सय २३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए भने कुल १४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो।

रसुवागढी बन्द भएपछि केरुङमा रोकिएका १७६ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ डाइभर्ट गरिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। अहिले न्हेचुङ भन्सारदेखि कोरला आसपाससम्म कन्टेनर र विद्युतीय सवारीको चाप देखिन थालेको छ। यससँगै कहिल्यै सुनसानजस्तो देखिने उच्च हिमाली सीमा क्षेत्रमा व्यापारिक गतिविधि र मानिसको आवतजावतसमेत बढेको छ।

तस्बिरमा देखिने कन्टेनरको लाम, भन्सार क्षेत्रमा जाँचपासका लागि रोकिएका विद्युतीय गाडी, हिमाली भूगोल र सीमावर्ती व्यापारिक गतिविधिले कोरला नाका अहिले कसरी चीनसँगको व्यापारको वैकल्पिक ढोका बन्दै गएको छ भन्ने देखाउँछ। उच्च हिमाली भूगोल, कठोर मौसम र लामो दूरीका बाबजुद बढेको यो चहलपहलले कोरला नाकाको बदलिँदो व्यापारिक भूमिकालाई समेत उजागर गरेको छ।