कांग्रेसका दुई महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं: शेखर कोइराला

17 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै घोषित दुई महाधिवेशन रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन् ।

बिहीवार प्रेस वक्तव्य जारी गर्दै कोइरालाले कांग्रेसको आन्तरिक विभाजनले पार्टी मात्र नभई नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमै असर पार्न सक्ने भन्दै एकता कायम गर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । ‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं’, कोइरालाले भनेका छन् ।

कांग्रेसभित्रको पछिल्लो अवस्थाप्रति आफू पीडित रहेको उल्लेख गर्दै उनले आफ्नो भावनासँग पार्टीका तमाम कार्यकर्ताको भावना जोडिएको दाबी गरेका छन् ।

कोइरालाले कांग्रेस आज विभाजित, विघटनकारी र गन्तव्य हराएको माझीजस्तो भएको टिप्पणी गरेका छन् ।

‘हामी जो आफूलाई कांग्रेस भन्छौं र कांग्रेस हुनुमा गौरव पनि अनुभव गर्छौं । किमार्थ पनि मानसिक रूपमा यति कमजोर र निरीह हुनु नपर्ने हो, जति आज छौं । हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो । दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौं, न विजय नै छौं । हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौं’, उनले भनेका छन् ।

उनले कांग्रेसको आन्तरिक विवादका कारण मुलुकका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट पीडित नागरिकप्रति पार्टी संवेदनशील हुन नसकेको बताएका छन् ।

रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपद्ले पीडित नागरिकको अवस्थाप्रति कांग्रेसले गम्भीर हुनुपर्ने भन्दै उनले चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडा बुझ्न आग्रह गरेका छन् ।

‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन् । उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौं ? हामी के गर्दैछौं ?’, उनले प्रश्न गरेका छन् ।

कानुन र पार्टी विधानका धारालाई मात्र आधार बनाएर मानवीय संवेदनासँग खेलवाड गर्न नहुने उनको भनाइ छ । सहमति, सहकार्य र एकताका माध्यमबाट पीडित नागरिकको घाउमा मल्हम लगाउने दायित्व कांग्रेसको रहेको उनले बताएका छन् ।

कोइरालाले पार्टीभित्र को सही र को गलत भन्ने पक्षमा आफूले वकालत गर्न नसक्ने बताएका छन् । साथीहरूमाथि असुरक्षा, अपमान र घृणा सिर्जना गरेर निर्माण हुने कांग्रेस आफूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ? यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो’, उनले भनेका छन् ।

उनले कांग्रेसको एकतालाई राष्ट्र निर्माणसँग जोडेर हेर्नुपर्ने बताएका छन् । विश्व राजनीतिले नेपालमा प्रभाव पारिरहेको अवस्थामा पार्टीभित्रको विभाजनभन्दा राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कोइरालाले आफूलाई मध्यमार्ग कठिन भए पनि सत्य र कांग्रेसको मार्ग भएको बताएका छन् । ‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो’, उनले भनेका छन् ।

उनले पार्टीभित्र कसैप्रति आरोप–प्रत्यारोप गर्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्दै सबैको एकताबद्ध प्रयासबाट मात्रै कांग्रेस सफल हुने बताएका छन् ।

‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिन । हामी उठ्छौं, जुट्छौं र जित्छौं’, कोइरालाले भनेका छन् ।

उनले गाउँ, टोलदेखि केन्द्र हुँदै विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई पार्टीलाई एकताबद्ध राख्ने अभियानमा जुट्न आग्रह गरेका छन् ।

पार्टी एकता र राष्ट्र निर्माणको अभियानलाई फरक रूपमा बुझ्न नसकिने भन्दै कोइरालाले आफू कांग्रेस एकताको अभियानमा निरन्तर लागिरहने बताएका छन् ।

‘म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईहरूसँग भेट्न गाउँघर आइरहने छु’, उनले वक्तव्यमा भनेका छन् ।