सभापति थापालाई राजीनामा नदिन ३० भन्दा बढी नेताको आग्रह

131 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० भन्दा बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा पुगेका नेताहरूले शनिबार सभापति थापालाई भेटेर यस्तो आग्रह गरेका हुन्।

रसाइलीका अनुसार मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण आफूहरूले थापालाई राजीनामा नदिन अनुरोध गरेका हुन्।

उनले भने, “यस्तो बेलामा पार्टीलाई निकास दिन र १५औँ महाधिवेशन सम्पन्न गर्न तपाईंको नेतृत्व आवश्यक छ। त्यसैले राजीनामा नदिनुस् भनेर आग्रह गरेका छौँ।”

उनीहरूले निर्वाचनमा हारजित स्वाभाविक हुने र मतदाताले कहिलेकाहीँ मन र मत परिवर्तन गर्नुलाई अन्यथा लिन नहुने पनि बताएका छन्।

सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जन केन्द्रीय सदस्यहरू पुगेका थिए।

गत २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिकूल परिणाम आएपछि कांग्रेसभित्र सभापति थापाले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ।

यसअघि थापाले पनि केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए।