भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

9 Shares

नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो ।

उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे । भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो । त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो ।

‘भोटेकोशीमा बाढी यति धेरै आएको थियो की पाँच दश–मिनेट मैले केही सोच्नै सकिन’, वीरबहादुरले भने, ‘एकछिनपछि त झल्यास्स सम्झिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने ।’ उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका–१० भैँसेलाई सम्झिए । अनी भैँसेस्थित घरमा रहनुभएकी श्रीमती गङ्गालाई फोन गरे । ‘श्रीमतीको फोन मरिकाटे उठ्दैन’, उनले सम्झँदै भने ।

वीरबहादुरलाई दिमागले काम गर्न छोडे जस्तै भयो । उनले तारन्तार फोन गरिरहे । श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए । उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन् । उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन् ।

‘छोरीले एक कलमै फोन उठाइन्, अनी मैले धुञ्चेबाट देखिरहेको सुनिरहेको दृश्यबारे उनलाई बताएँ’, वीरबहादुरले भने, ‘एक छिनपछि त श्रीमती र दाजु (रमेश) ले पनि फोन उठाउनुभयो ।’ उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यति बेला खेतमा थिए । उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पु¥याइसकेका थिए ।

वीरबहादुरको आफ्नै माइक्रोबस छ । उनी आफैँले त्यही माइक्रोबस बेत्रावतीबाट काठकाडौँको मार्गमा चलाउने गर्छन् । बाढी आएको दिन भने उनी धार्मीकस्थल गोसाइँकुण्ड जाने १० यात्रु लगेर बिहानै धुञ्चे उक्लिएका थिए । उनका अनुसार यात्रुहरू सबै धादिङका थिए । उनीहरूले वीरबहादुरको माइक्रोबस भाडामा लिएर त्यसतर्फ गएका थिए ।

‘भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ’, वीरबहादुरले भने । अरू बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौँका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैँसे वरपर बित्थ्यो । त्यसदिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा पर्नुभएन । ‘अरू दिन हुन्थ्यो भने म मात्र होइन्, परिवार नै बाढीमा बग्थ्यो’, उनले भने, ‘धुन्चेमा भएर बेलैमा भोटेकोशीको बाढीबारे थाहा पाएँ, मेरो एक कल फोनले परिवार र छरछिमेक मात्र होइन्, टोलकै बासिन्दालाई बचाउन सकेँ ।’ मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेका उनले बताए । सबै भोटेकोशीको बाढीमा विलय भएका छन् ।

पाँच जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर औधी खुसी छन् । उनले भने, ‘सम्पत्ति त फेरि फेरि पनि जोड्न सकिएला, जीवन त कहाँ पाउनु ?’ श्रीमान् वीरबहादुरको फोनले धेरैको ज्यान बचाउन सकिएमा गङ्गा पनि खुसी छिन् । ‘खेतबाट निकै बेरसम्म बाढी आयो भनेर चिच्याएँ, धेरैले त सुरुआतमा विश्वासै गरेनन्’, उनले भनिन्, ‘टिमुरे र स्याँफ्रुबेँसी पूरै बगायो भनेपछि सबै भाग्न थालेँ ।’ उनले चिन्तित हुँदै दुःखले जोडेको करिब १० तोला सुन र रु १४ लाख भने बाढीबाट जोगाउन नसकेको बताइन् । उनले केही वर्षअघि लाखौँ रुपैयाँ खर्चेर एक तले पक्की घर बनाएका थिए । तत्काल एक तला थप्ने सोचमा थिए उनी ।

‘गहना र पैसा लिएरै भाग्न खोजेको भए परिवारै बग्थ्यो’, गङ्गाले भनिन्, ‘तर, मैले त्यसलाई आफ्नो ज्यान र छोराछोरीभन्दा प्यारो ठानीन, त्यसैले त आज नयाँ जीवन पाएँ ।’ गरगहना र पैसा जोगाउन खोज्दा धेरैले ज्यान गुमाएका उनको अनुभव छ । भैँसेमा पनि सुन र नगद घरबाट निकाल्न खोज्दा कतिलाई बाढीले बगाएको उनले बताइन् ।

आफ्नो र वीरबहादुरको सहित १० जनाको परिवार मात्र होइन आफू बस्दै आएको टोलका करिब ३० परिवारलाई भाइको एक कलले बाढीबाट जोगाउन सकिएको दाजु रमेश गुरुङले जानकारी दिए । उनले भैँसेमा खानाखाजाको पसल सञ्चालन गर्दै आएका थिए । उनको व्यापार राम्रै चलेको थियो । त्यसबेला रसुवागढी नाका किनमेल गर्न, कैलाश मानसरोवर तथा गोसाइँकुण्ड तीर्थाटन गर्न जानेहरूको निकै भीडभाड थियो । रमेशलाई बिहानदेखि रातिसम्म एकछिन फुर्सद हुँदैनथ्यो ।

‘पसलमा धेरै ग्राहक आएका थिए, खाना बनाउँदै थिएँ, एक्कासी भाइको फोन आयो । सबैलाई बाढी आयो भन्दै भाग्न भनेँ’, रमेहले त्यो क्षण सम्झिँदै भने, ‘धेरैले विश्वास नै गरेनन्, विश्वास नगर्नेहरूलाई बाढीले बगायो ।’ बाढी भैँसे पुग्दासम्म रमेश चिच्याइरहे । वीरबहादुरले धुञ्चेबाट फोन गरेपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा जति लागेको उनको ठम्याइ छ ।

ज्यान जोगाउन त्यो पर्याप्त समय रहेको रमेशले बताए । समय सदुपयोग भने आफ्नो कुरा पत्याउनेको हकमा मात्रै लागू भएको उनले अनुभव सुनाए । अन्यत्रभन्दा भैँसेमा मानवीय क्षति कम भएको रमेशले बताए ।

तर बाढीबाट ज्यान गुमाउनेको एकीन तथ्याङ्क उनीसँग पनि छैन । ‘बाँचेकाहरूसँग पनि यसबीचमा थोरै जनासँग भेट भएको छ, अरू त को कता भागे अत्तोपत्तो छैन ।’

रमेशले भैँसेमा झण्डै रु एक करोड लगानीमा घर बनाएका थिए । त्यसैमा खानाखाजाको पसल चलाउँदै आएका थिए । ‘अहिले व्यापारको याम हो, दैनिक रु २०–२५ हजारको कारोबार हुन्थ्यो’, उनले भने, ‘यो यामको तीन–चार महिनाको कमाइले वर्षभरि खान, लगाउन र छोराछोरी पढाउन पुगेको थियो । झण्डै रु ४० लाख जति घर बनाउँदाको ऋण बाँकी नै थियो ।’

रमेशको जेठो छोरा काठमाडौँमा पढ्छन् । अर्को छोरा भैँसेमा चण्डेश्वरी माविमा पढ्छन् । विद्यालय गएको छोरालाई उनले झण्डै चार घण्टापछि मात्र भेट्टाएक । ‘स्कुलकै साथीहरूसँग भागेको रहेछ, बाढीले बगायो की भन्ने चिन्तामै थिएँ, पछि त सम्पर्कमा आयो’, उनले भने । श्रीमतीले मोबाइल लिन घरभित्र पस्न खोजे पनि आफूले जान नदिँदा ज्यान जोगिएको रमेशले बताए ।

वीरबहादुर र रमेशको परिवार पनि यतिबेला शोकमा डुबेको छ । उनीहरूको परिवारको एक सदस्य तेराना तामाङलाई भने बाढीले बगायो । उनी त्रिशूली अस्पतालमा नर्स थिए । तर अघिल्लो राति उनी शोलेस्थित घर गएका थिए ।

अर्को बिहान घरबाट अस्पताल पुग्नै पाएनन् । ‘सबै शोकमा छन्, एकले अर्कोलाई हेरेर चित्त बुझाउनु परिरहेको छ’, रमेशले भने ।

यही भदौ १० गते भोटेकोशीमा बाढी गएपछि नुवाकोटको अति प्रभावित क्षेत्र भैँसेका १५० जना विस्थापितलाई नजिकैको सुरक्षित स्थानमा होल्डिङ सेन्टरमा राखिएको रमेशले बताए । उनीसहित छ परिवार भने भैँसेमाथिको गैरीखर्कमा आफन्त कहाँ आश्रय लिएर बसेको छ । सरकारले विस्थापितलाई राहत सामग्री उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

‘म दिनहुँ होल्डिङ सेन्टरमा गइरहन्छु, खानेकुराको कुनै कमी छैन, विभिन्न निकायले दैनिक राहत सामग्री दिइरहेका छन्’, रमेशले भने, ‘यसरी लामो समयसम्म बस्न सकिने अवस्था छैन, सरकारले उचित बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो, पानी निरन्तर परिरहेकाले बास बस्नेलाई समस्या छ ।’

बाढीका कारण विस्थापित भएकाहरूलाई मुख्यतया छोराछोरीको पढाइको चिन्ताले सताएको उनको भनाइ छ । बालबालिका, महिला, परिवारका सदस्य गुमाएकालगायत विस्थापित सबैलाई मनोपरामर्शको खाँचो देखिएको उनले बताए ।

विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालले बाढीबाट आफ्नो वडा अत्यधिक प्रभावित भएको बताए । उनका अनुसार सो वडामा बाढीबाट २५६ परिवारका एक हजार २०० जना प्रभावित भएका जानकारी दिए । उनका अनुसार बाढीमा परेर २३९ जना बेपत्ता भएका छन् ।

वडाध्यक्ष नेपालले विस्थापित भएकाहरूलाई गेल्फुटारस्थित सुन्दरीकेउरिनी माविमा राखिएको छ । बाढीमा परेर स्थानीय उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थी बेपत्ता भएका उनले बताए । उनका अनुसार बेपत्ताको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

प्रभावित विद्यार्थीलाई नजिकका सुरक्षित विद्यालयमा पढ्न पठाउन उनीहरूका अभिभावकलाई सुझाव दिइएको वडाध्यक्ष नेपालले बताए । विदुर नगरपालिकाले बाढी विस्थापित प्रत्येक परिवारलाई तत्कालका लागि रु १० हजार उपलब्ध गराउने निर्णय गरेको उनले उल्लेख गरे ।

विभिन्न सङ्घसंस्था तथा अन्य निकायले पनि आर्थिक सहयोग गरिरहेका भन्दै उनले सबैप्रति आभार व्यक्त गरे ।

सरकारले बसोबासका लागि उचित व्यवस्था नगर्दासम्म सो वडाका विस्थापितलाई सुरक्षित स्थानमा बसोबास गर्न सुझाव दिँदै वडाध्यक्ष नेपालले त्यसका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।