मध्यपूर्व तनावको असर: २ लाख ७० हजार अफगान नागरिक स्वदेश फर्किए

130 Shares

एजेन्सी । मध्यपूर्वमा जारी युद्धको प्रभावका कारण अफगानिस्तानमा घर फिर्तीको ठूलो लहर देखिएको छ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीका अनुसार करिब २ लाख ७० हजार अफगान नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका छन्। तीमध्ये करिब १० हजार इरानबाट र करिब १ लाख ३० हजार पाकिस्तानबाट फर्किएका बताइएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले ड्रोन र मिसाइलमार्फत प्रतिक्रिया दिएको थियो। त्यसपछि इरानमा रहेका अफगान नागरिकहरू स्वदेश फर्किने क्रम बढेको जनाइएको छ। पछिल्ला दिनहरूमा दैनिक करिब एक हजार अफगान नागरिक इरानबाट फर्किरहेको बताइएको छ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रतिनिधिहरूले अफगानिस्तानले इरानसँग सम्बन्धित घटनाक्रमको प्रत्यक्ष प्रभाव भोगिरहेको बताएका छन्।

पछिल्ला दुई वर्षमा मात्रै पाँच लाखभन्दा बढी अफगान नागरिक छिमेकी देशहरूबाट स्वदेश फर्किसकेका छन्। तीमध्ये गएको वर्ष मात्र करिब एक लाख ९० हजार नागरिक इरानबाट फर्किएका थिए।