राष्ट्रियसभा सदस्यहरूको प्रतिबद्धता: राष्ट्र र जनताको हितमा काम गर्ने

67 Shares

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले आवश्यक ऐन, कानुन र नीतिनिर्माणमार्फत राष्ट्र र जनताको हितमा काम गर्ने बताएका हुन्।

राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारीअनुसार काम गर्ने बताउनुभयो। उहाँले आफूहरूको मुख्य भूमिका कानुन निर्माण भए पनि जनताले विकाससम्बन्धी अपेक्षा पनि गर्ने भएकाले केही चुनौती देखिने गरेको उल्लेख गर्नुभयो।

त्यस्तै राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देशको विकासका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले मुलुकको विकास, सुशासन लगायतका विषयका लागि आवश्यक कानुन निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो।

उहाँले अहिले दुईतिहाइ वा बहुमतभन्दा पनि राष्ट्रिय हित महत्वपूर्ण भएको उल्लेख गर्दै राष्ट्रहितका कानुन बनाउन आफूहरूको पूर्ण सहयोग रहने बताउनुभयो।

त्यस्तै राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले जनता र राष्ट्रको हित हुने काममा सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो। प्रतिनिधिसभाजस्तै राष्ट्रियसभाले पनि जिम्मेवार ढंगले काम गर्ने उहाँको भनाइ छ।

झाँक्रीले प्रतिनिधिसभा निर्वाचनको नतिजाबारे पार्टीभित्र आवश्यक समीक्षा हुने पनि उल्लेख गर्नुभयो।