राष्ट्रियसभाका नवनिर्वाचित १७ सदस्यले लिए शपथ

67 Shares

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन्।

गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ मध्ये १७ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन्।

कुल ५९ सदस्य रहेको राष्ट्रियसभामा सदस्यको पदावधि ६ वर्षको हुने व्यवस्था छ। साथै प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने संवैधानिक प्रावधान रहेको छ।

शपथ लिने सदस्यहरूमा खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेल रहेका छन्।

नवनिर्वाचित सदस्य मीनासिंह रखाल भने आजको कार्यक्रममा अनुपस्थित रहेको जनाइएको छ।