काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व कायम देखिएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार हालसम्म कूल ८५ लाख ९३ हजार ४ सय ४० मत गणना भइसकेको छ।
जसमध्ये रास्वपाले कूल मतको करिब आधा हिस्सा अर्थात् ४८ दशमलव ३१ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठूलो दल बन्ने निश्चित जस्तै देखिएको छ। घण्टी चुनाव चिन्हमा हालसम्म ४१ लाख ५१ हजार २५७ मत परेको छ, जुन समानुपातिकतर्फ नेपाली निर्वाचन इतिहासकै ठूलो जनमतमध्ये एक मानिएको छ।
परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा एमालेको मत परिणाम भने यस पटक उल्लेख्य रूपमा घटेको देखिएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ दशमलव १७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९ सय ६६ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको एमालेले १३ दशमलव ६६ प्रतिशतका साथ ११ लाख ७३ हजार ५ सय ६१ मत प्राप्त गरेको छ।
अन्य दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीले ७ दशमलव ९ प्रतिशत मतसहित ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ। नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीले ३ दशमलव ५० प्रतिशत अर्थात् ३ लाख १ हजार १ सय २९ मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता पाउने थ्रेसहोल्ड पार गर्ने संकेत देखिएको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव २८ प्रतिशत मतसहित २ लाख ८२ हजार ५५ मत प्राप्त गर्दै छैटौँ स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया