जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, गल्ती गर्नेलाई कारबाही सिफारिस

105 Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले आइतबार सुशीला कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रतिवेदन बुझाएको हो।

आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूले बुझाएको उक्त प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयन गर्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभएको आयोगका सदस्य तथा पूर्वडीआईजी विज्ञानराज शर्माले जानकारी दिनुभयो।

शर्माका अनुसार प्रतिवेदनमा आन्दोलनका क्रममा गल्ती गर्ने व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरिएको छ। उहाँले भन्नुभयो, “उक्त आन्दोलनमा जसले गल्ती गरेको छ, उसलाई कारबाहीको सिफारिस भएको छ। जसले गल्ती गरेको छ, उसलाई अभियोग लगाइएको छ। आन्दोलनका क्रममा केही सुरक्षा लापरबाही भएको देखिएको छ।”

उहाँले संसद् भवन परिसरमा आन्दोलनकारी अघि बढ्दा ब्यारिकेड व्यवस्थापनमै कमजोरी देखिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो। साथै घटनाका विभिन्न पक्षहरूको अध्ययन गरी सुरक्षा व्यवस्था, आन्दोलन व्यवस्थापन र जिम्मेवारीबारे विस्तृत सुझाव पनि आयोगले सरकारलाई दिएको जनाएको छ।