काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही–४ मा अमरेशकुमार सिंह विजयी हुनुभएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हुनुहुन्थ्यो।
बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी गगनकुमार थापाले २२ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्। सिंहले मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम राख्नुभएको थियो।
सिंह र थापाबीचको मतान्तर १२ हजार ८ सय ५० रहेको छ। यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट सिंह स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुनुभएको थियो। उहाँ यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भइसकेका नेता हुनुहुन्छ।
यस पटक भने कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गर्दै सभापति थापालाई सर्लाही–४ बाट उम्मेदवार बनाएको थियो।
यस क्षेत्रको नतिजासँगै सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गरेको छ।
अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनिशकुमार यादवले ९ हजार ३ सय ४३, नेपाल कम्युनिष्ट पार्टीका रजनिश राय यादवले १ हजार ४ सय १, तथा जनमत पार्टीका राकेश मिश्राले १ हजार ५ सय ७२ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार १ लाख २१ हजार १२ मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९ सय ३१ मत खसेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया