रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित, विष्णु पौडेल ४३ हजार मतले पराजित

127 Shares

काठमाडाैं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

खरेलले २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल लाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्। सुरुवातदेखि नै अग्रता कायम गरेका खरेलले ५६ हजार ५५० मत प्राप्त गरेका छन्।

शनिबार सार्वजनिक अन्तिम परिणामअनुसार पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका चुन्न पौडेल ले ९ हजार ३९२ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदिप ले १ हजार ४०९ मत प्राप्त गरेका छन्।

रुपन्देही–२ मा २०६४ सालयता विष्णु पौडेल निरन्तर निर्वाचित हुँदै आएका थिए।

निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका थिए। जसमध्ये ८६ हजार ५३० मत अर्थात् ६४.०७ प्रतिशत मत खसेको थियो। तीमध्ये ८४ हजार १३ मत सदर भएको छ भने २ हजार २९० मत बदर भएको छ।