काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गर्नुभएको छ।
गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएका कारण सम्भावित सुरक्षा चुनौतीहरू समयमै समाधान गर्न सफल भएको उहाँले बताउनुभयो। बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री अर्यालले सुरक्षा निकायहरूले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गरेर समाधान गरेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार केही छिटफुट रूपमा देखा परेका घटनाहरूलाई पनि तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रियामा लगाइएको छ।
सुरक्षा व्यवस्थापनमा जनताको उल्लेख्य सहयोग रहेको बताउँदै उहाँले जनतालाई सहयोगी वातावरण बनाउन सरकारले विशेष पहल गरेको स्पष्ट पार्नुभयो।
गृह मन्त्रालयले आफ्नो कार्यशैली र कार्यपद्धतिमा व्यापक सुधार गरेको उल्लेख गर्दै मन्त्री अर्यालले अहिलेको सुरक्षा संयन्त्र अझ समन्वयात्मक र सामूहिक नेतृत्वमा आधारित भएको बताउनुभयो।
उहाँले विगतका अनुभव र प्राप्त पूर्वसूचनाका आधारमा सम्भावित जोखिमलाई सुरुमै रोकथाम गर्न धेरै समय र प्रयास गरिएको बताउँदै त्यसका कारण सुरक्षा अवस्था सुरुदेखि नै सुदृढ र मजबुत हुँदै गएको बताउनुभयो।
तल्लो तहमा सफल भएका सुरक्षा अभ्यासहरूलाई अन्य स्थानमा पनि लागू गर्दै कानून र मापदण्डको पूर्ण पालना गराउन मन्त्रालय सफल भएको उहाँको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया