चुनाव बिथोल्ने तत्व नरहेको आयोगको दाबी, ढुक्क भएर मतदान गर्न आग्रह

160 Shares

काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न मतदातासँग आग्रह गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म नभएको र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको बताएका हुन् ।

आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर घोषणा भएको यो निर्वाचनमा सुरक्षाको संशय सुरुदेखि नै थियो । सरकार सुरक्षाको सन्दर्भमा बढी संवेदनशील भएर सुरक्षाकर्मी परिचालन भएको होला तर यो नराम्रो लक्षण होइन ।”

निर्वाचनको पूर्वसन्ध्यामा सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुनुलाई आयोगले सकारात्मक र राम्रो लक्षणका रूपमा लिएको पनि उनले बताए । भण्डारीका अनुसार सुरक्षाकर्मीको बाक्लो उपस्थिति अति संवेदनशील अवस्थाको संकेत नभई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता हो ।

सम्भावित घटनाहरूलाई बेलैमा पहिचान गरी नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सुरक्षाकर्मी खटिएको उनको भनाइ छ ।

यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान प्रतिशत बढ्ने अनुमान पनि आयोगले गरेको छ । नयाँ मतदाता तथा युवाको सहभागिताले मतदान दर बढ्ने र प्रभावकारी निर्वाचन शिक्षाका कारण बदर मतको प्रतिशत उल्लेख्य रूपमा घट्ने विश्वास आयोगले व्यक्त गरेको छ ।