निर्वाचनअघि सेयर बजारमा उत्साह, नेप्से २७ सय अंक पार

40 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघि सेयर बजारमा उत्साह देखिएको छ। मंगलबार बजार परिसूचक ३८.५२ अंकले बढेर २७१२ बिन्दुमा कायम भएको छ। अब बजार निर्वाचनपछि सोमबारदेखि मात्रै खुल्नेछ।

करिब १० दिनअघिदेखि बजारमा सकारात्मक रुझान देखिएको छ। फागुन १० यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९८ अंकले बढेको छ। सो दिन नेप्से २६१४ बिन्दुमा थियो। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ।

व्यापारबाहेकका सबै समूहका सूचक बढेका छन्। व्यापार समूह ०.८४ प्रतिशतले घट्दा बैंकिङ १.६४, विकास बैंक १.५९, फाइनान्स १.४३, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर २.१३, लगानी १.५२, जीवन बीमा १.०५, उत्पादन तथा प्रशोधन १.४९, माइक्रोफाइनान्स १.६६, निर्जीवन बीमा १.११ तथा अन्य समूह १.०३ प्रतिशतले बढेका छन्।

व्यक्तिगत कम्पनीतर्फ साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावर ९.८९, रिलायन्स स्पिनिङ मिल्स ९.८२, मोलुङ हाइड्रोपावर ६.१८ र लक्ष्मी लघुवित्त ६.०९ प्रतिशतले बढेका छन्। शुभम् पावरको मूल्य भने सबैभन्दा धेरै २.५३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा ङादी ग्रुप अग्रस्थानमा रहेका छन्।