दसैँको टीकापछि उपत्यकाका सडकमा सवारी चाप बढ्यो

12 Shares

काठमाडौँ । मान्यजनबाट विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ ।

बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइतपछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ ।

अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधन सामान्य अवस्थामा सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदी बताउँछन् ।

“टीकाका दिन आज आफन्तकहाँ आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ”, उनले भने ।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्ध रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाइ छ । ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन् ।

दसैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुनः काठमाडौँ फर्कने क्रम पनि आजैदेखि सुरु भएको छ ।

नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी साधनको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागूऔषध सेवन गरे–नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ ।

अब दसैँ मानेर काठमाडौँ फर्कने यात्रुको चाप बढ्ने हुँदा प्रमुख नाका र राजमार्गमा सोहीअनुसारको व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । दसैँका अवसरमा काठमाडौँ उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ ।