काठमाडौं — रामचन्द्र पौडेलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको बताए।
राष्ट्रपति पौडेलले भने, “निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो। त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो।”
उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे। “देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ। आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ,” उनले सम्बोधनमा भने।
उनले यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेका अघिल्ला पुस्ता तथा सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।
सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रम विस्तारमार्फत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकार सुदृढ बनाउने प्रयास सुरु भएको बताए।
राष्ट्रपति पौडेलका अनुसार पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगति भएको छ र यी उपलब्धि जनताको बलिदान, अटुट विश्वास तथा सक्रिय सहभागिताको परिणाम हुन्।
सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र विकासका लागि ऐतिहासिक निर्वाचनमा सक्रिय सहभागिताको आह्वान गरेका छन्।






फेसबुकबाट तपाईको प्रतिक्रिया