काठमाडौं — गगनकुमार थापाले फागु पूर्णिमा (होली)को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन्।
होलीका अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन्। फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको पर्व भएको बताउँदै उनले यसले सामाजिक सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
सन्देशमा उनले फागु पूर्णिमासँगै प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा आएको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
लोकतन्त्र सुदृढीकरण र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन उनले सबै नेपालीलाई आह्वान गरेका छन्।
अन्त्यमा उनले फागु पूर्णिमाले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया