काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले मतदातालाई अतिवादको पक्षमा नउभिन आग्रह गर्नुभएको छ।
आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचन अतिवादको बाटो रोज्ने कि समन्वय र सहकार्यबाट देशलाई अघि बढाउने भन्ने विषयमा जनमत सङ्ग्रह सरह भएको दाबी गर्नुभयो।
पौडेलले यस निर्वाचनले नेपाललाई स्थिरता, शान्ति र संविधान कार्यान्वयनतर्फ लैजाने कि अस्थिरता र थप संकटतर्फ धकेल्ने भन्ने गम्भीर निर्णय गर्ने बताउनुभयो। उहाँले नेपाली काँग्रेसले अतिवादलाई संस्थागत हुन नदिने र लोकतन्त्र तथा नागरिक अधिकारका पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको स्मरण गराउनुभयो।
उहाँले भदौ २३ गतेको ‘जेन–जी’ आन्दोलनपछि मुलुकमा धेरै परिवर्तन आएको उल्लेख गर्दै काँग्रेसले त्यसलाई आत्मसात गरेको बताउनुभयो। राजनीतिमा उमेर वा जन्मकालका आधारमा मात्र पुरानो–नयाँ छुट्याउन नहुने भन्दै काँग्रेस विचार र एजेन्डाका हिसाबले नयाँ र स्पष्ट रूपमा मैदानमा उत्रिएको उहाँको भनाइ छ।
पौडेलले एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहने प्रवृत्तिको अन्त्य गर्न काँग्रेसले दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था आफ्नै पार्टीबाट सुरु गरेको र यसलाई संविधानमै बाध्यकारी बनाउन चाहेको जानकारी दिनुभयो।
सुशासन र पारदर्शिताका सन्दर्भमा २०४६ सालपछि राज्यका विभिन्न ओहदामा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग काँग्रेसले नै अघि सारेको उहाँले स्पष्ट पार्नुभयो।







फेसबुकबाट तपाईको प्रतिक्रिया