गगनकुमार थापाको चुनावी प्रतिबद्धता: ५ वर्ष सुशासन र विकास

146 Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति **गगनकुमार थापा**ले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

आईतबार काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा उहाँले आगामी ५ वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञा गरेको उल्लेख गर्नुभयो। सभापति थापाले विगत केही समय यता सबै दलहरु सरकार बनाउने र टिकाउनेमा लागेकाले अब परिणाममुखी कामको आवश्यकता आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “अबको पाँच वर्षको अवधि सरकार बनाउने र टिकाउनेमा जाने होइन। अबको अवधि परिणाम दिने ठाउँमा जानु पर्दछ। त्यसैले नेपाली काँग्रेस पार्टीको तर्फबाट हामी एउटा प्रतिज्ञा लिएर उभिएका छौं – हामी यो ५ वर्षको प्रत्येक दिनको प्रत्येक क्षण नेपालको सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौं, एक क्षण पनि खेर नफाली। त्यसका लागि सोच, संकल्प र योजनासहित अघि बढेका छौं।”

सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकतालाई पनि स्पष्ट पार्नुभयो।