काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत राख्ने बताएका छन्।
शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई नेतृत्व दिन सक्ने एजेण्डा र क्षमता आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरे।
उनले राष्ट्रियता, समृद्धि र सुशासनका मुद्दा अघि बढाउने सामर्थ्य नेकपासँग रहेको उल्लेख गर्दै भने, “हामी जनताको जनमतबाट जेन–जीका सकारात्मक माग र भावनालाई सम्बोधन गर्छौं। राष्ट्रियता, समृद्धि र देशका सबै समस्याहरू समाधान गर्ने क्षमता हामीसँग छ। त्यो नेतृत्व कमरेड प्रचण्डसहित हामीसँग छ।”
पुनले निर्वाचनपछि नेकपा देशको सबैभन्दा ठूलो र निर्णायक शक्ति बन्ने दाबी गरे। साथै रोल्पामा सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा उल्लेख्य काम गरेको उल्लेख गर्दै अब समृद्धिको नयाँ मोडेलमार्फत विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया