काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्।
झापाको दमकमा शुक्रबार अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा देखिएको राजनीतिक संकटबाट मुक्ति दिलाउन एमाले निर्वाचनमा होमिएको जिकिर गरे।
उनले मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बलपूर्वक विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको दाबी गरे। एमाले चुनावबाट नभाग्ने पार्टी भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमाले नै पहिलो शक्ति बन्ने दाबी गरे। त्यसपछि देशका समस्याको समाधान निकाल्ने जिम्मेवारी एमालेले लिने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचनमा कुनै प्रकारको धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पारे। चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप समेत उनले लगाए।
कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट फैलाइने भ्रम र दुष्प्रचारबाट सचेत रहन आग्रह गरे। युवा तथा विद्यार्थीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै ओलीले कुनै पनि पार्टीको भूमिका उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने बताए। एमालेका कार्यक्रम र सिद्धान्त जनतासम्म पुर्याउन उनले युवा–विद्यार्थीलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।







फेसबुकबाट तपाईको प्रतिक्रिया