पाकिस्तान–अफगानिस्तान सीमा तनाव चर्कियो, दुवै पक्षबाट आक्रमणको दाबी

170 Shares

एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नयाँ रूप लिएको छ। पछिल्ला प्रतिवेदनअनुसार पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई तथा जमिनबाट आक्रमण गरेको जनाइएको छ भने अफगानिस्तानले पनि जवाफी कारबाही गरेको दाबी गरेको छ।

BBCका अनुसार पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानी सेनाको कारबाहीमा १ सय ३३ अफगान तालिवान सदस्य मारिएको र २ सयभन्दा बढी घाइते भएको दाबी गरेका छन्। तर अफगान तालिवान पक्षले भने कुनै क्षति नभएको जनाएको छ।

उता, पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले सेनाको जवाफी कारबाहीको प्रशंसा गर्दै पाकिस्तानको शान्तिलाई कमजोरी ठान्नेहरूले कडा जवाफ भोग्नुपर्ने चेतावनी दिएका छन्।

अफगान तालिवानले कन्धार र हेलमण्ड क्षेत्रमा पाकिस्तानी सैन्य इलाकालाई लक्षित गरी प्रतिकारात्मक हमला गरिएको उल्लेख गरेको छ।

सन् २०२५ अक्टोबरमा दुई देशबीच अस्थायी शान्ति सम्झौता भए पनि पछिल्लो समय सीमा क्षेत्रमा पुनः आक्रमण र तनाव बढ्दै गएको छ। दुवै पक्षले एक–अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका छन्, जसले द्विपक्षीय सम्बन्ध थप जटिल बन्दै गएको संकेत गरेको छ।