उत्पादनमुखी अर्थतन्त्र मुख्य एजेण्डा : वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी घोषणा

148 Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभएको छ ।

राजधानीमा मंगलबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै हाल वस्तुगत उपाध्यक्षसमेत रहनुभएका ढकालले प्रतिकूल परिस्थितिमा समेत आफूले उल्लेखनीय काम गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले उत्पादनमुखी अर्थतन्त्रको विकास र व्यवसायीहरूको मनोबल उच्च बनाउनु नै आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो ।

निजी क्षेत्रका समस्या समाधान आफ्नो मुख्य दायित्व रहेको उल्लेख गर्दै उहाँले आफू निर्वाचित भए सरकारसँग राख्नुपर्ने विषय स्पष्ट र दृढ रूपमा प्रस्तुत गर्ने बताउनुभयो । आवश्यक परे सरकारी निकायका ढोका ढक्ढक्याउन पनि पछि नहट्ने उहाँको भनाइ छ ।

उहाँले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानून संशोधनका लागि पहल गरिएको र कर सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गर्नुभयो । साथै, निजी क्षेत्र विभाजित नभई एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै आफ्नो टिम त्यसैका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।