“प्रधानमन्त्री घोषणा ख्यालख्यालैमा हुँदैन” : ओलीको कटाक्ष

143 Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताउँदै कटाक्ष गर्नुभएको छ।

सोमबार झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै भने, “बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूलाई प्रधानमन्त्री घोषणा गरिदिएको छ। तर त्यसैले प्रधानमन्त्री भइहाल्दैन।”

उहाँले प्रधानमन्त्री पदलाई ख्याल गर्ने जिम्मेवारीको रूपमा नलिन सचेत गराउँदै, आफूले सरकारको नेतृत्व गर्दा गरेका काम पूरा गर्न निर्वाचनमा उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले थप भन्नुभयो, “म सरकारबाट हटाएपछि देश ड्राइभरविनाको गाडीजस्तो हुन्छ। म सरकारमा आउँदा देश फेरि कुद्छ, तर मैले सरकार छोडेपछि फेरी देश त्यहीँ ठप्प रहन्छ। प्रधानमन्त्रीको क्यान्डिडेट भनेर बच्चालाई सोध्दा उसले के भन्न सक्छ भन्ने अनुमान गर्नुहोला, तर त्यसको अर्थ देश चल्ने होइन।”

उहाँले सरकारको नेतृत्वमा रहँदा देशको समृद्धिका लागि अभियान सञ्चालन गरेको दाबी गर्दै, देशलाई समृद्ध बनाउन एमालेको विकल्प नभएको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने पनि जोड दिनुभयो।