काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मतदान बुथको सुरक्षाका लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
सोमबार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक बुथमा स्वयंसेवक परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। निर्वाचनमा मत सुरक्षाका लागि टोल–टोलमा सुरक्षा समिति गठन गर्न पनि उहाँले अपिल गर्नुभयो।
अध्यक्ष ओलीले स्थानीय तहमा निर्माण गरिने भोलेन्टियर्स फोर्सले पार्टीको निर्णय र निर्देशनअनुसार काम गर्ने स्पष्ट पार्दै उनीहरूलाई सोहीअनुसार परिचालन हुने वातावरण बनाउनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरु बनाउनुहोस्। नेशनल भोलेन्टियर्स फोर्स बनाउन पार्टीलाई सहयोग गर्नुस्। स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन, आफ्नै ढंगले जनसंगठनलाई चल्न दिनुपर्छ। तर भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णय र निर्देशनसँग टकराएर काम गर्दैन। चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना भोलेन्टियर निर्माण गर्नुहोस् र त्यसलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस्।”
अध्यक्ष ओलीले देशको सुरक्षामा सहयोग पुर्याउन तथा निर्वाचनलाई व्यवस्थित बनाउन पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गर्न लागेको पनि उल्लेख गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया