काठमाडौं । नेपाली काँग्रेस ले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
आइतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसे ले सो माग गर्नुभएको हो । उहाँले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरण सुनिश्चित गर्ने कर्तव्यप्रति सरकार सचेत रहनुपर्ने बताउनुभयो ।
काँग्रेसले जनताको मताधिकारमा कुनै हस्तक्षेप गर्ने छुट सरकारलाई नभएको पनि उल्लेख गरेको छ । प्रवक्ता चालिसेले निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्र मतदानको वातावरण सुनिश्चित गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभयो । उहाँले शासनको वैधताको स्रोत जनताको मताधिकार भएकाले त्यसमा कुनै सम्झौता नहुने पनि स्पष्ट पार्नुभयो ।
यसैबीच पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विभिन्न दलका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको दाबी समेत गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया