काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचन विथोल्न प्रयास गरेको आरोप लगाएको छ।
शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाही ले रास्वपाले एमालेको झण्डा, प्रचार सामग्री जलाउने, घृणा फैलाउने तथा समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधिमा संलग्न भएको बताउनुभयो।
शाहीले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको र सरकार शान्ति–सुरक्षाको प्रत्याभूति दिन असफल भएको आरोप लगाउनुभयो। उहाँका अनुसार, देशभरि ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तीब्र बनेका छन्।
उहाँले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत संग्रह’ को रूपमा लिएको उल्लेख गर्दै, कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि रास्वपाले चुनाव प्रभावित पार्ने प्रयास गरेको आरोप लगाउनुभयो। शाहीले रास्वपाका गतिविधि भैरहँदा रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको उदाहरण समेत उल्लेख गर्नुभयो।
एमालेले स्वच्छ, निष्पक्ष र भयरहित मतदानको वातावरण बनाउन सरकारसँग ध्यानाकर्षण गराउनुपर्ने र आम मतदाताको निर्भीक मतदान गर्ने अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएको बताएको छ।
त्यसैगरी, एमालेले होली पर्वको अवसरमा केही दलले चुनाव चिन्ह अंकित टिशर्ट वितरण गरेको र निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदा निर्वाचन आयोग उदासीन भएको आरोप लगाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया