केपी शर्मा ओली को आपत्ति— संसद् विघटन मुद्दामा साधारण तारेख ‘अर्थहीन र प्रयोजनहीन’

167 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत ले साधारण तारेख तोकेकोप्रति आपत्ति जनाएका छन् ।

शनिबार भद्रपुर विमानस्थल मा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संवैधानिक प्रश्नजस्तो गम्भीर विषयमा समयमा फैसला आउनुपर्ने बताउँदै साधारण तारेख तोकिनु व्यवहारिक रूपमा अर्थहीन र प्रयोजनहीन भएको टिप्पणी गरे ।

‘मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्थ्यो,’ ओलीले भने, ‘निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रूपमा अर्थहीन छ । प्रयोजनहीन छ ।’

उनले सैद्धान्तिक रूपमा भविष्यका लागि नजिर बस्न सक्ने भए पनि समयमै न्याय नपाउनु म्याद गुज्रिएको औषधिजस्तो हुने जिकिर गरे । ‘न्याय अर्थपूर्ण हुनुपर्छ । म्याद गुजारिएको न्याय डेट एक्सपायर्ड हुन्छ,’ उनले भने ।

ओलीले संवैधानिक प्रश्नमा शीघ्र न्याय सम्पादन हुनुपर्नेमा जोड दिएका छन् ।