केपी शर्मा ओली को आरोप— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्ने गतिविधितर्फ उन्मुख

156 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेर विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् ।

शनिबार भद्रपुर विमानस्थल मा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाका पछिल्ला गतिविधि अभद्र, अमर्यादित र तनाव बढाउने खालका देखिएको बताए ।

ओलीले रास्वपाले चुनाव जित्न नसकिने निष्कर्ष निकालेपछि झण्डा जलाउने, अशोभनीय व्यवहार देखाउने र तनाव सिर्जना गर्ने गतिविधि बढाएको जस्तो देखिएको बताएका छन् । उनले रास्वपा चुनाव भाँड्ने अवस्थातर्फ गएको अनुमान गर्न सकिने दाबी समेत गरेका छन् ।

उनका अनुसार आफ्नो पक्षमा नतिजा आउने भए चुनाव लड्ने र नआउने भए चुनाव लड्न नदिने प्रवृत्तिमा रास्वपा देखिएको जस्तो आफूलाई लागेको बताएका छन् । पछिल्ला केही दिनका घटनाक्रमले रास्वपा चुनाव भाँड्न खोजेको जस्तो देखिएको ओलीको भनाइ छ ।

यससँगै उनले चुनाव बलजफ्ती गर्ने विषय नभएको पनि स्पष्ट पारे । स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरण र निष्पक्ष तथा धाँधलीरहित निर्वाचन हुनुपर्नेमा उनले जोड दिएका छन् ।

मतदाताले निर्भय वातावरणमा बिना अवरोध आफ्नो मत दिन पाउनुपर्ने उल्लेख गर्दै मतदानदेखि मतगणना र परिणाम घोषणा सम्मका सबै प्रक्रिया पारदर्शी हुनुपर्ने ओलीको भनाइ छ । यस विषयमा आफ्नो पार्टीले सधैं आवाज उठाउँदै आएको उनले बताएका छन् ।