धरहराको सञ्चालन–व्यवस्थापन काठमाडौं महानगरपालिकालाई दिने तयारी

156 Shares

काठमाडौंऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने तयारी भएको छ।

शुक्रबार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन–व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आवश्यक अध्ययन गरी निष्कर्षका आधारमा अघि बढ्ने जानकारी दिइन्।

उनले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई असर नपर्ने गरी अध्ययन गरिने बताइन्। साथै धरहराको बेसमेन्ट पार्किङ व्यवस्थापन समेत महानगरलाई दिने विषयमा छलफल भएको जानकारी दिइन्।

महानगरपालिकाले न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने तयारी रहेको उनको भनाइ छ।

धरहराको व्यवस्थापन महानगरलाई हस्तान्तरण भएमा महानगरको आन्तरिक राजस्व वृद्धि हुने विश्वास कार्यवाहक प्रमुख डंगोलले व्यक्त गरिन्।