काठमाडौं । राष्ट्रिय सभा का अध्यक्ष नारायणप्रसाद दाहाल ले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन्।
भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिँदै उनले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षा अनुसार नभएको उल्लेख गर्दै निर्माणमा आवश्यक तीव्रता नदेखिएको बताएका छन्। यद्यपि पछिल्लो समय केही प्रगति भएको उनको भनाइ छ।
अध्यक्ष दाहालले केही दिनअघि मात्रै शहरी विकास मन्त्रालय का सचिव तथा सम्बन्धित निकायका प्रतिनिधिलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिएका छन्।
उनले सम्पूर्ण भवन परिसरका सबै काम तत्काल नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रियसभा सञ्चालन हुने कक्षहरू तयार हुनुपर्नेमा जोड दिएका छन्।
चुनावपछिको संसद बैठक नयाँ भवनमै सञ्चालन गर्ने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको अध्यक्ष दाहालले बताएका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया