झण्डा जलाएको घटनामा एमालेको आपत्ति, दोषीलाई कारबाही गर्न माग

156 Shares

काठमाडौंनेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ।

बिहीबार राति तुलसीपुर मा रास्वपा कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो। एमाले निर्वाचन परिचालन कमिटीका प्रेस संयोजक मीनबहादुर शाही द्वारा जारी विज्ञप्तिमा रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपाच्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको उल्लेख गरिएको छ। साथै महासचिव शंकर पोखरेल को गृह नगरमा अराजक शैली प्रदर्शन गरिएको आरोप लगाइएको छ।

एमालेले उक्त घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्यको संज्ञा दिएको छ। साथै यस्तो गतिविधिले मुलुकलाई अस्थिरताको चक्रमा फसाउने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास भएको आरोप लगाएको छ।

दलिय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि नयाँ शक्तिका नाममा स्थापित राष्ट्रिय शक्तिको आस्थामा चोट पुर्‍याउने काम भएको एमालेको ठहर छ।

एमालेले आफू अनुशासित पार्टी भएको उल्लेख गर्दै संयमतालाई कमजोरी नठान्न चेतावनी दिएको छ। साथै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।