फागुन १७ मा काठमाडौंमा कांग्रेसको चुनावी सभा

127 Shares

काठमाडौंनेपाली कांग्रेस ले यही फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसे ले सभामा सभापति गगन थापा र उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा सहितका पदाधिकारीले सम्बोधन गर्ने जानकारी दिएका छन्।

उक्त सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्ला नेतृत्वसँग छलफल गरिएको जनाइएको छ।

यसअघि कांग्रेसले फागुन ६ गते जनकपुर को तिरहुतियामा मधेस सभा गर्दै चुनावी कार्यक्रमको सुरुवात गरेको थियो। त्यसपछि फागुन ७ गते काठमाडौंमा ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ विषयमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।

अन्य प्रदेशमा पनि ठूला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र कहाँ र कहिले गर्ने भन्ने विषय शनिबारसम्म टुंगो लगाइने प्रवक्ता चालिसेले बताएका छन्।