काठमाडौं । नेकपा एमाले का नेता एवं पूर्वअर्थमन्त्री युवराज खतिवडा ले एमालेको चुनावी घोषणापत्र विगतको भन्दा भिन्न र कार्यान्वयन योग्य रहेको दाबी गर्नुभएको छ ।
ठूला वाचा गर्ने तर पूरा नहुने स्थिति अन्त्य गर्न यसपटक लागत र स्रोतको समेत आँकलन गरिएको उहाँको भनाइ छ । डा. खतिवडाका अनुसार यसपटकको घोषणापत्रमा ‘देश पहिला, राष्ट्र पहिलो’ भन्ने मूल मन्त्र राखिएको छ । उहाँले लोकतन्त्र कालमा भएका उपलब्धि र कमी–कमजोरीलाई वस्तुनिष्ठ ढंगले प्रस्तुत गरिएको बताउनुभयो । घोषणा गरिएका ११ बुँदे कार्यक्रमहरूका लागि राज्यलाई राजश्वको करिब २ प्रतिशत मात्र दायित्व पर्ने उहाँको दाबी छ ।
उहाँले यसले देशको ऋणभार नबढाउने बरु न्यायिक पुनर्वितरण गर्ने स्पष्ट पार्नुभयो । सरकारले आफैं उद्योग नचलाउने तर रणनीतिक क्षेत्रमा मात्र हात हाल्ने उहाँको धारणा छ । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाएर काम र रोजगारी सिर्जना गर्ने वातावरण बनाइने उहाँले बताउनुभयो ।
डा. खतिवडाले समन्वय र उच्च राजनीतिक चरित्र देखाउने प्रयास गरिएको उल्लेख गर्दै राजश्वको आधार विस्तार, सूचना प्रविधिको प्रयोग र चुहावट नियन्त्रणमार्फत स्रोत जुटाइने बताउनुभयो । साथै नेपाल को भूमिलाई कुनै छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउँदै सबै देशसँग मित्रवत सम्बन्ध कायम राख्ने तर कसैको षड्यन्त्रको शिकार नबन्ने एमालेको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया