कर्णालीलाई ‘शिवभूमि’ भन्दै वाचापत्र सार्वजनिक गर्न पाउँदा खुसी : बालेन्द्र शाह

134 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कर्णाली प्रदेश लाई शिवभूमिको उपमा दिँदै शिवको पाउमा पुगेर वाचापत्र सार्वजनिक गर्न पाउँदा खुसी भएको बताएका छन् ।

बिहीबार सुर्खेत मा आयोजित रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णालीलाई स्वर्गीय सौन्दर्यसँग तुलना गर्दै पूर्व राजा महेन्द्र वीर विक्रम शाह को भनाइ पनि स्मरण गरेका थिए ।

कर्णालीको यार्सागुम्बा विश्वभर पुग्ने भए पनि जुम्लाको स्याउ र मार्सी चामल देशभर पुर्‍याउन नसकिएको भन्दै रास्वपाले उत्पादनलाई देशव्यापी बजारसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको उनले बताए । सिञ्जा सभ्यता, नेपाली भाषा र खस भाषाको उद्गमस्थलको संरक्षण गर्ने पार्टी रास्वपा बन्ने दाबी पनि उनले गरे ।

कर्णालीको गरिबी र दुःखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्दै कर्णालीलाई बुझ्ने पार्टी बन्ने लक्ष्य रहेको उनले बताए ।